जिल्ला सभापतिहरुले आजै अनशन तोड्ने, पौडेल समूह महाधिवेशनमा केन्द्रित हुने

जिल्ला सभापतिहरुले आजै अनशन तोड्ने, पौडेल समूह महाधिवेशनमा केन्द्रित हुने



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आजै (शनिबार) तोडिने भएको छ । क्रियाशील सदस्यता सूचि सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर उनीहरु पार्टी कार्यालय सानेपामा विगत चार दिनदेखि रिले अनशनमा छन् ।

हिजो (शुक्रबार) साँझ सभापति देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने काँग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

‘विधि, नियम अनुसार क्रियाशील सदस्यताको बाँकी काम छानबिन समितिले छिटो टुङ्ग्याउने र महाधिवेशनमा जाने सभापतिज्यूसँग सहमति भएको छ’ नेता सिंहले भने, ‘रिले अनशनमा बसिरहेका जिल्ला सभापतिहरुको माग पूरा गर्ने वातावरण बनेको छ । उनीहरुलाई अनशन अन्त्य गरेर महाधिवेशनलाई सफल बनाउन अनुरोध गर्ने कुरा भएको छ ।’

उनले निर्वाचन समितिले सल्लाह गरेर काम गरिरहेको उल्लेख गर्दै तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताप्रति आफूहरु सचेत रहेको बताए । महाधिवेशन समयमै गर्नुपर्ने बाध्यता छ । भदौ १८ को अधिवेशन देशभरका सबै वडामा गर्ने निर्णय भएको छ,’ नेता सिंहले भने, ‘अब सबै महाधिवेशनमा केन्द्रित गर्छौँ ।’

जिल्ला सभापतिहरुको अनशन टुङ्ग्याउने जिम्मेवारी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ ।