मन्त्रिमण्डल छिट्टै विस्तार हुन्छ – कानुनमन्त्री कार्की

मन्त्रिमण्डल छिट्टै विस्तार हुन्छ – कानुनमन्त्री कार्की



मोरङ, १२ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भएको बताएका हुन् ।

सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिएका छन् ।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने बताउदै उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिए ।

कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिए । एमसीसी एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उनले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताएका छन् ।