पार्टीको नेतृत्व युवाहरुलाई दिने प्रचण्डको संकेत

पार्टीको नेतृत्व युवाहरुलाई दिने प्रचण्डको संकेत



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लाग्ने गरेको बताएका छन् । शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा जनयुद्धको समयमा भन्दा युवाहरु स्खलित भएको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेको बताएका हुन् ।

कार्यक्रमा प्रचण्डले भने, ‘हिजो युवाहरुमा अप्ठेरो कामको जिम्मा आफूले पाउन पाए हुन्थ्यो भन्ने थियो, अहिले मलाइ यो पदमा पठाइयोस् भन्ने प्रवृत्ति देखिएको छ ।’

प्रचण्डले माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको पनि बताए । राष्ट्रिय राजनीतिमा अरु पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने प्रचण्डको भनाई छ । ‘हामी पनि उस्तै भयौं भने अलग्गै किन हुनुप-यो, त्यहीँ गएर बसे भइगो नि’, प्रचण्डले भने ।

युवाहरुलाई नेतृत्व दिने मन
पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको प्रचण्डले बताएका छन् । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको प्रचण्डको भनाई छ । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ उनले भने, ‘तर, तपाईहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन ।’

प्रचण्डले युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको बताए । ‘अलि भिन्न भूमिकामा जाने इच्छा छ छिट्टै’ उनले भने, ‘छिट्टै भनेको भोलि नै होइन ।’

यस्तै प्रचण्डले केपी ओलीका कारण मुलुक र संविधान खतरामा जाने ठानेर गठबन्धनले सडक आन्दोलनमा उत्रिनुपरेको बताए । वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई शनिवार काठमाडौंमा सम्बोधन गदै प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना नभएको भए मुलुक र संविधान खतरामा जाने ठानेर सडक आन्दोलनमा उत्रिनुपरेको बताएका हुन् ।

प्रचण्डले ठूलो मिहिनेत र दुःखले बनेको गठबन्धन परिवर्तन र संविधानको रक्षाको निम्ती सुदृढ गर्नुपर्ने धारणा राखे । प्रचण्डले नेकपामा रहेका बेला माओवादीबाट गएका नेताहरू प्रताडित भएको बताए । उनले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा–आधा कार्यकाल रहने सहमति गरेर ओली पछि हटेको गुनासो गरे ।

आफूलाई अहिले पनि एमालेसँग पार्टी एकता गरेर गल्ति गरेको महसुुस नभएको सुनाउदै प्रचण्डले विचार, राजनीति र सिद्धान्त लगायतका कुरा दस्तावेजमा लेखिएको भएपनि केपी ओलीले लेखिएको तमसुक पालना नगरेको बताए । प्रचण्डले भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नका लागि ओलीले ’म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । गर्ने मान्छेलाई देख्न पनि सक्दिनँ’ भन्ने गरेको तर्क गरे ।

विगतमा पञ्चायत, राजतन्त्रलाई विदा गर्न आफूहरुले अभियान चलाएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अहिलेका युवाहरुले समाजवादको अभियान चलाउन आव्हान गर्नुभयो । उनले वाइसिएलको नयाँ नेतृत्वका लागि पार्टीले हस्तक्षेप नगर्ने बताए ।