कांग्रेस महाधिवेशन तोकिएकै मितिमा

कांग्रेस महाधिवेशन तोकिएकै मितिमा



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने भएको छ । महाधिवेशन प्रकृया थालनी वडा र नगर अधिवेशन गर्न भने एक साताको समयसीमा तोकिएको छ । नेपाली कांग्रेसको निर्वाचन समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह (पालिका) हरुको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे छ ।

पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीले १८ भदौदेखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने छ ।

त्यसपछिका अधिवेशनहरु भने आयोगले तोकेकै मितिमा हुने उनको भनाइ छ । क्रियाशील सदस्यता विवरण सार्वजनिक भइनसकेको र कतिपय जिल्लामा व्यवस्थापन समस्या भएको भन्दै वडा र पालिका अधिवेशनको मितिमा लचक बन्ने निर्णय भएको उनको भनाइ छ ।

कांग्रेसले हालसम्म ५६ जिल्लाको मात्र क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ । २१ जिल्लामध्ये आज थप तीन जिल्लाको विवरण सार्वजनिक गर्ने तयारी कांग्रेसले गरेकाे छ ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।