कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले दुवै पदबाट दिए राजीनामा

कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले दुवै पदबाट दिए राजीनामा



काठमाडौं । नेपाल दलित संघका अध्यक्ष एवम् केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दुवै पदबाट राजीनामा दिएका छन् । उनले अध्यक्ष र केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनमा दलित समुदायलाई अन्याय हुने गरेर त्रुटिपूर्ण, अव्यवहारिक र अन्यायपूर्ण नीति नियम लागू गरेको भन्दै विश्वकर्माले दुबै पदबाट राजीनामा दिएका हुन् ।

सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर संघको अध्यक्ष र कांग्रेसको केन्द्रीय सदस्य पदबाट विश्वकर्माले राजीनामा दिएको पत्र पार्टी कन्द्रीय कार्यालय सानेपामा बुझाएका छन् ।

विश्वकर्माले यसअघि ८.५ प्रतिशत दलितको प्रतिनिधित्व हुँदै आएको थियो ।

‘वर्तमान विधानको गलत ब्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिक्ति जालझेलपूर्ण तरिकाबाट विना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरिका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निषेध गर्ने देखिन्छ’, विश्वकर्माले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

विश्वकर्माले अहिले लागू भएको कांग्रेसको विधानले केही समयपछि कांग्रेस पार्टीमा दलित समूयाको प्रतिनिधित्व शून्य हुने दाबी गरेका छन् ।

उनले दलित समुदायलाई अन्याय हुने गरेर कांग्रेसमा नयाँ व्यवस्था गरिएपछि विरोध गर्दै राजीनामा दिएपछि तरंग उत्पन्न भएको छ ।