मुख्यमन्त्री आचार्यले राजीनामा नदिने, संसद्को सामना गर्ने

मुख्यमन्त्री आचार्यले राजीनामा नदिने, संसद्को सामना गर्ने



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसद्‌मा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी)मा १० जना सांसद् खुलेसँगै आचार्य अल्पमतमा परेका हुन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिनेसमेत बताएका छन् ।

आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौँ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ । एमालेबाट एकीकृत समाजवादीमा गएका सांसद्हरूप्रति भने आचार्यले उनीहरूले आफ्नो अधिकार प्रयोग गरेको टिप्पणी गरे ।

प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेशसभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारबाही गरेपछि ९२ सदस्य बाँकी छन् । जसमध्ये एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक जना सांसद् छन् ।

बहुमतका लागि प्रदेश सभामा ४७ मत चाहिन्छ । यस्तो अवस्थामा साना दुई दलको समर्थनले पनि एमालेलाई सरकार बचाउन पर्याप्त देखिँदैन । आजको एक महिनाभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।