एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मुद्दा दायर

एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मुद्दा दायर



काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । एमालेले आज बुधबार दिउँसो सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । सभामुख सापकोटासहित निर्वाचन आयोग र लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा दायर गरिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

३ वटै मुद्दा छुट्टाछुट्टै दायर गरिएको उनले बताए । हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले सभामुख र निर्वाचन आयोगविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको थियो ।

पार्टीबाट निष्कासन गरिएका आफ्ना १४ सांसद्लाई कारबाही नगरेको भन्दै एमालेले सभामुखद्धारा मुद्दा दायर गरेको हो । राजनीतिक दल सम्बन्धी ऐनअनुसार सभामुखले १५ दिनभित्र सूचना टाँस्नुपर्ने व्यवस्था छ । तर सभामुख सापकोटाले माधव नेपालसहितका १४ सांसदले नयाँ दल दर्ता गरिसकेपछि १३ औँ दिनमा कारवाही गरिरहनु नपर्ने निर्णय गरेका थिए ।

निर्वाचन आयोगले पनि कारबाहीमा परेका १४ सांसद्को हस्ताक्षरसहित नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट माधव नेपालसहित १४ जना सांसद्लाई निष्कासन गरेको थियो ।

सो निर्णयको जानकारी संसद् सचिवालयलाई र निर्वाचन आयोगलाई भदौ १ गते दिएको थियो । लुम्बिनीका सभामुख घर्तीले पनि एमालेले कारबाही गरेका २ सांसद्लाई पदमुक्त गर्नुपर्नेमा गरेका छैन ।

अजय शाही र विमला वलीलाई कारबाही सिफारिस गरी पदमुक्त गर्न एमालेले सभामुखलाई पत्र पठाएको थियो । तर सभामुखले दुबै सांसद्लाई कारबाही भएन ।