पौडेल समूहले भन्यो- ‘सभापतिमा एउटै उम्मेदवार दिन्छौं’

पौडेल समूहले भन्यो- ‘सभापतिमा एउटै उम्मेदवार दिन्छौं’



काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने भएका छन् । सभापतिका आकांक्षीहरुले आज संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने प्रतिबद्धता जनाएको हो ।

नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी रहेको यो समूहले लगातार छलफल भएपनि सहमति जुट्न नसकेको भन्दै सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका छन् ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर छलफल भइरहेको बताए । नेता पौडेलले भने, ‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं । सभापतिमा एउटै उम्मेदवार दिन्छौं ।’ छिट्टै उम्मेदवार तय गर्ने उनको भनाई छ ।

कांग्रेस महाधिवेशनको सारगर्मी बढेसँगै अहिलेका सभापति शेरबहादुर देउवाविरुद्ध मिलेर लड्ने पोडेल समूहको तयारी रहेको छ । सभापति देउवाले पुनः यसपटक पनि दोहोरिने इच्छा देखाइरहेको बुझिन्छ ।

अहिलेका सभापति देउवाको नेतृत्व रहुन्जेल काँग्रेसले गरिनखाने हुनाले एक भएर लड्नुको विकल्प नभएको केन्द्रीय सदस्य बलबहादुर केसीको भनाई छ । ‘देउवाको नेतृत्वमा कांग्रेसले गरिखाँदैन ।, त्यही भएर एक हुनुको विकल्प छैन’, उनले भने ।