३५ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन सम्पन्न

३५ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन सम्पन्न



काठमाडौं । ३५ जिल्लामा नेपाली कांग्रेसको गाउँ/नगर वडाअधिवेशन सम्पन्न भएको छ । आसन्न १४ औं महाधिवेशनअन्तर्गत हिजो सुरु भएको गाउँ/नगर अधिवेशनमा अन्य जिल्लाको अधिवेसन भने हुन बाँकी छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अधिकांश वडामा सर्वसम्मत केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। अधिवेशन भएका वडाको मत परीणाम केन्द्रमा आजसम्ममा आइपुग्ने समितिले जनाएको छ । ५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडाअधिवेशन आजदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने पनि समितिले जनाएको छ ।

यसबाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ तथा नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ तथा नगर वडा अधिवेशनका मतदाता हुन् ।

महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन हिजो गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/ एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।