एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी बाँडफाँट (कसले के पाए ?)

एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी बाँडफाँट (कसले के पाए ?)



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा नेकपा एमाले परित्याग गरेका वामदेव गौतम अटाउन नसकेको देखिएको छ । नेकपा एमालेबाट विभाजित भएको नेकपा (एस)ले नेपाल नेतृत्वमा पाँच सदस्सीय स्थायी कमिटी बनाउँदा गत शुक्रवार नेकपा एमाले परित्याग गरेका गौतम अटाउन नसकेका हुन् ।

नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकरी गराएका छन् । तर, नेकपा एसमा प्रवेश गर्न लागेका गौतमलाई भने अन्तरपार्टी निर्देशनमा स्थायी कमिटीमा राखिएको छैन ।

‘पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको निम्ति अध्यक्ष कमरेड माधवकुमार नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहनु भएका कमरेडहरु मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, प्रमेश हाल रहनु भएको स्थायी कमिटी गठन गरिएको छ’ अपानीमा उल्लेख गरिएको छ । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी भने गंगालाल तुलाधारले पाएका छन् ।

त्यसैगरी प्रदेश इञ्चार्जहरु पनि तोकिएकाे छ । प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने चयन भएका छन् । यसैगरी गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला छन् । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।

उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् । डा. विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।

यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।