काठमाडौं उपत्यकामा चार सय घर डुबानमा

काठमाडौं उपत्यकामा चार सय घर डुबानमा



काठमाडौं, २१ भदौ । आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ । बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जना रहेका छन् ।

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रबाट उद्धार गरिएको राठौरले जानकारी दिए । अन्य ठाउँमा डुबानको समस्या हटेको र मनोहरा खोला किनारामा उद्धार भइरहेको उनले बताए ।

वर्षाका कारण खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेका छन् । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो । गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ। अनामनगर, रातोपुल लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको केहि साना गाडी बगाएको प्रहरीले जनाएको छ । त्यस्तै बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

उपत्यकाका सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । बर्षाका कारण बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । नदीहरुमा पानीको सतह सडक भन्दा माथिसम्म आएको छ । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।