काङ्ग्रेस महाधिवेशन: ५ जिल्लामा आज वडा अधिवेशन हुँदै, अझै टुंगिएन २० जिल्लाकाे क्रियाशील सदस्यता

काङ्ग्रेस महाधिवेशन: ५ जिल्लामा आज वडा अधिवेशन हुँदै, अझै टुंगिएन २० जिल्लाकाे क्रियाशील सदस्यता



काठमाडौं । नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता टुंगो लागेका थप ५ जिल्लामा आज (मंगलबार) वडा अधिवेशन हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार काङ्ग्रेसले क्रियाशील सदस्यता टुंग्याएर विवरण दिएका ५७ जिल्लामध्ये ५ जिल्लामा आज वडा अधिवेशन हुने भएको हो । आज वडा अधिवेशन हुने जिल्लाहरूमा गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला रहेका छन् ।

काङ्ग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले क्रियाशील सदस्यता टुंगो लागेका ५७ मध्ये ४८ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए । उनले पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुराको सदस्यता विवाद टुंगिएर निर्वाचन अधिकृतले आज छलफल राखेको बताए । ‘डडेलधुरामा आज छलफल पछि वडा अधिवेशनको मिति तय गरिने छ,’ यादवले भने, ‘रुकुम पश्चिम र पूर्व दुबै जिल्लाको वडा अधिवेशन भोलि सुरु हुन्छ ।’

उनले वडा अधिवेशन सम्पन्न भएका करिव ८० प्रतिशत जिल्लामा सर्वसम्मत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको बताए । वडा अधिवेशन सुरु भएको ५ दिन भइसक्दा पनि कांग्रेसले २० जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंग्याउन सकेको छैन ।

क्रियाशील सदस्यता विवाद टुंगो लगाउने जिम्मा पाएको समितिले प्रत्येक दिन सम्भवतः आजै टुंग्याउने गरी काम भइरहेको बताउदै आएको छ । तर समितिले भनेअनुसार काम गर्न सकेको छैन । समितिका सदस्य डा. मीनेन्द्र रिजालले सबै जिल्लाको सदस्यता विवाद आजै सक्ने गरी काम भइरहेको बताए । ‘काममा लागिरहेका छौं, आजै पनि सकिन्छ की हेरौं ?’ रिजालले भने, ‘हरेक दिन सक्ने प्रयास गरिन्छ, त्यहीअनुसार काम हुन्छ तर सकिदैन ।’

पालिका तहको अधिवेशन २७ भदौमा गर्ने मिति तोकिएकाले क्रियाशील सदस्यता विवाद चाँडो टुंग्याउनुपर्ने दबाव समितिलाई छ । काङ्ग्रेसको वडा अधिवेशन १८ भदौदेखि सुरु भएको हो । क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २० जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ ।

क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र जिल्ला निर्वाचन अधिकृतको जिम्मेवारी दिएर खटाउन सकिने गरी तयारी भएको यादवले बताए । काङ्ग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।

करिब ९ लाखको सङ्ख्यामा रहेका काङ्ग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । मुलुकभरका सबै ६ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने समितिका संयोजक यादवले जानकारी दिए ।

यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् । प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा तोकिएको छ । यसैगरी काङ्ग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १०–१२ कार्तिक र केन्द्रीय महाधिवेशन आगामी ९–१३ मङ्सिरसम्म तय गरेको छ ।

वडा अधिवेशन सुरु भएको ५ दिन सम्म पनि २० जिल्लाको सदस्यता विवाद टुंगोमा नलागेपछि चाँडो सूची सार्वजनिक गर्न सम्बन्धित जिल्लाका कार्यकर्ताले पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् । प्रदेश १ मा मोरङको सदस्यता सूची अझै सार्वजनिक भएको छैन ।

प्रदेश २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्लाको क्रियाशील सदस्यता टुंगिएको छैन । यसैगरी बागमती प्रदेशका काठमाडौंसहित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रसुवा गरी चार जिल्लाको क्रियाशील सदस्यता विवाद पनि टुंगिएको छैन ।

गण्डकी प्रदेशका सबै जिल्लाको सदस्यता सूची सार्वजनिक भइसकेको छ । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन । कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा र कैलालीको पनि विवाद टुंगिएको छैन ।