काङ्ग्रेस क्रियाशील सदस्यबाट नाम हटाइएपछि वडा सभापतिले मुण्डन गरेर बसे किरिया

काङ्ग्रेस क्रियाशील सदस्यबाट नाम हटाइएपछि वडा सभापतिले मुण्डन गरेर बसे किरिया



डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–९ का काङ्ग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बसेका छन् ।

विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले दुःख व्यक्त गरेका छन्। ‘नेपाली काङ्ग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन्।

आइतबार सार्वजनिक भएको नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ। सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ।

नेपाली काङ्ग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार चार तहबाट प्रमाणित भएकाको नाम हटाइएको छ। वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिबाट निर्णयसहित अनुमोदन गरिएका चार सयभन्दा बढी सदस्यको नाम हटाइएको उनले जानकारी दिए। जिल्लाबाट सिफारिस गर्दै नगरेकाको नाम क्रियाशील सदस्यको सूचीमा समावेश गरिएको उनको भनाइ छ ।

कार्यसमितिले दुई हजार पाँच सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर ५८ सय चारजनाको सूची सिफारिस गरेको थियो। जसमध्ये चार सय ४४ जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ।