कांग्रेसको १४ औं महाधिवेशनको नारा तय

कांग्रेसको १४ औं महाधिवेशनको नारा तय



काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नारा तय गरेको छ । ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔं १४ औं महाधिवेशन’ नारा तय गरेको छ । हिजो सोमबार सम्पन्न पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको चौथो पूर्ण बैठकले नारा तय गरेको हो ।

यसैगरी पार्टीको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका दर्जन बढी विषयमा प्यानल डिस्कसन’ गरिने प्रचार विभागले जनाएको छ ।

यस्तै ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएको प्रचार विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।