काम गर्ने वातावरण नभएपछि राजीनामा दिएँ : मन्त्री शाह

काम गर्ने वातावरण नभएपछि राजीनामा दिएँ : मन्त्री शाह



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । दुवै जनाले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एमाले विभाजनपछि सरकारमा बसेर काम गर्ने वातावरण नभएपछि राजीनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए । एमाले विभाजनपश्चात पार्टी र पदमध्ये एउटा रोज्नुपर्ने बाध्यता रहेको बताउँदै उनले आफ्ना लागि पदभन्दा पार्टी ठूलो भएको बताए ।

विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए । केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी र प्रदेश कमिटीले गरेको निर्णयविरुद्ध शाह र गहतराज पटकपटक उभिएका थिए ।

अर्थ राज्यमन्त्री अर्चना गहतराजले आफू पदको लोभमा नलागेको बताइन् । ‘मेरो नाम नेकपा (एस) मा जोडेर बदनाम गराउन खोजिएको थियो,’ उनले भनिन्,‘तर मैले एमालेलाई छोड्ने सोच कहिल्यै बनाइन्, अब पार्टीको नीतिअनुसार काम गर्नेछु ।’