संघीय संसदमा आजबाट दुई नयाँ दलकाे प्रवेश

संघीय संसदमा आजबाट दुई नयाँ दलकाे प्रवेश



काठमाडौं । नवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट दुईवटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जसपा नेपाल बिभाजित गराई दिएपछि संसदको बैठकमा दुई नयाँ पार्टीले प्रवेश पाउने भएका हुन् ।

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट बिभाजित भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीले पहिलो पटक संसदमा प्रवेश पाउन लागेका हुन् ।

‘दुई नयाँ पार्टी थपिएकाले संघीय संसद भवनमा सिट व्यवस्थापनको काम सम्पन्न भइसकेको छ,’ संसद सचिवालयकाअनुसार, ‘एकीकृत समाजवादी सत्तापक्षतर्फ र लोसपा प्रतिपक्षमा बस्ने गरी व्यवस्था मिलाइएको छ ।’ सो सिट व्यवस्थापन दुवै नयाँ दलको आग्रह अनुसार नै गरिएको हो ।