एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छः प्रचण्ड

एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छः प्रचण्ड



काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका हुन् । उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारे । उनले गठबन्धनलाई बचाएर सकारात्मक रुपमा अघि बढ्न तयार रहेको बताएका छन् ।

प्रचण्डले आफुहरु गठबन्धनलाई बलियो बनाउन चाहेपनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप लगाए । त्यस्तै उनले माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्र भएकाले सचेत रहनुपर्ने बताएका छन् ।

त्यस्तै प्रचण्डले एमालेले डलर भित्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउनु खोजेको आरोप लगाए । उनले सूर्य चिन्ह र मदन भण्डारीको नामको प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको तर्क गरे । एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उनले बताए । प्रचण्डले क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुने धारणा राखे । उनले पार्टीभित्र सजिलै पार्टीका नेता तथा कार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएको जिकिर गरे ।