अझै मिलेन कांग्रेसमा क्रियाशील विवाद, निर्वाचन कार्यतालिका प्रभावित

अझै मिलेन कांग्रेसमा क्रियाशील विवाद, निर्वाचन कार्यतालिका प्रभावित



काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद मिल्न नसक्दा पछिल्लाे निर्वाचन कार्यतालिका पनि प्रभावित हुने भएको छ । पालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदा सम्म २१ वटा जिल्लाको वडा अधिवेशन सुरु नै नभएकाले निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हाे ।

राजधानी काठमाडौंलगायत २० जिल्लाको कियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरासहित २१ जिल्लामा आजसम्म वडा अधिवेशन नै सुरु हुन सकेको छैन । डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिले भोलि (शुक्रबार) वडा अधिवेशनको मिति तोके पनि जिल्ला कार्यसमितिले भने सदस्यतामा असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने निर्णय गरेको छ ।

२० जिल्लाको क्रियाशील सदस्यता विवाद आज सम्म नटुंगिएकाले २७ भदौमा तोकिएको पालिका अधिवेशनको तालिका प्रभावित हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले २७ गतेको पालिका अधिवेशनको तालिका प्रभावित हुने बताएका छन् । ‘२१ जिल्लाको वडा अधिवेशन नै सुरु भएको छैन, त्यसैले पालिका अधिवेशन २७ गते सम्भव छैन,’ लेखकले भने, ‘सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिका अधिवेशन गर्नेकी भन्ने कुरा उठेको छ ।’ त्यस विषयमा नेताहरूसँग आज छलफल भएर निर्णय हुने उनले बताए ।

सबै जिल्लाको वडा अधिवेशन सकेपछि देशभर पालिकाको अधिवेशन एकै दिन गर्ने विषयमा पार्टीमा कुरा चलेको लेखकले सुनाए । पालिकाको अधिवेशनको मिति पर सारेर एकै मितिमा गर्ने निर्णय भएपछि वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको पालिका अधिवेशन पनि २७ गते नहुने देखिएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २० जिल्लामा सदस्यता विवाद नटुंगिएकाले २७ गते नै सबै पालिका अधिवेशन गर्न असम्भव भएको बताए ।

क्रियाशील विवाद टुंगिन बाँकी स्थानहरूमा प्रदेश नम्बर १ को मोरङ, प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी बाग्मती प्रदेशतर्फ काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौं, लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु कर्णाली प्रदेशको डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको बाजुरा र कैलाली जिल्ला रहेका छन् ।

हालसम्म क्रियाशील सदस्यता विवाद नभएको प्रदेश गण्डकी रहेको छ । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद टुंगिएको छैन । अधिवेशन सुरु हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।