गठबन्धन बैठक सम्पन्न, मन्त्रिपरिषद् विस्तार अनिश्चित

गठबन्धन बैठक सम्पन्न, मन्त्रिपरिषद् विस्तार अनिश्चित



काठमाडौं । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । बैठकले एक/दुई दिनमा मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको छ । आज बसेको बैठकमा एक/दुई दिनमा मन्त्रिपरिषद विस्तार गर्नेबारे सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच समझदारी बनेको हो ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँतीलगायत पनि सहभागी थिए । मन्त्रिपरिषदलाई एकरदुई दिनमा पूर्णता दिनेबारे छलफल भएको बैठकमा उपस्थित एक नेताको भनाई छ । प्रधानमन्त्री देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए ।

देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री बनेको दुई डेढ महिना वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।