काँग्रेस महाधिवेशन निर्वाचन प्रमुखले दिए राजीनामा

काँग्रेस महाधिवेशन निर्वाचन प्रमुखले दिए राजीनामा



काठमाडौं । नेपाली काँग्रेस १४ औँ महाधिवेशनका निर्वाचन प्रमुख महादेव यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका छन् ।

प्रमुख यादवको राजीनामा सँगै काँग्रेसको महाधिवेशन के हुने भन्ने अन्योल भएको छ । काँग्रेस उच्च स्रोतका अनुसार यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिएका छन् । ‘यादवले निर्वाचन प्रमुख पदबाट राजीनामा दिनु भएको छ,’ काँग्रेस उच्च स्रोतले भन्यो ‘उहाँको राजीनामा चानचुने कुरा हैन, अब महाधिवेशन के हुने भन्ने अन्यौलता पैदा भएको छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा देखिएको विवादका कारण यादवले राजीनामा दिएका हुन् ।

‘सभापति देउवाको गृह जिल्लामा देखिएको विवाद र त्यो विवाद समाधानका लागि दिइएको दबाबका कारण उहाँको राजीनामा आएको हो,’ स्रोतले भन्यो ‘सभापति ज्यूकै गृह जिल्लाको विवादका कारण आएको राजीनामाले काँग्रेसका बाँकी अधिवेशन प्रभावित हुने देखियो ।’ यद्यपि काँग्रेसको केन्द्रीय कार्यालयले भने यादवको राजीनामाको पुष्टि गरिसकेको छैन ।

काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनहरु सम्पन्न भइसकेका छन् । अब जिल्लामा नगर, क्षेत्र सँगै जिल्ला अधिवेशन बाँकी छन् । वडा अधिवेशन सम्पन्न भएसँगै काँग्रेस नेताहरु नगर, क्षेत्र, तथा जिल्ला अधिवेशनको तयारीमा सक्रिय रहेका छन् । तर निर्वाचन प्रमुखकै राजीनामा आइसकेकाले बाँकी अधिवेशनको अनिश्चितता बढेको छ ।