एमसीसीबारे नेकपाकै निर्णयमा एमाले अडिग छ : योगेश भट्टराई

एमसीसीबारे नेकपाकै निर्णयमा एमाले अडिग छ : योगेश भट्टराई



काठमाडौँ । नेकपा (एमाले) प्रचार विभागका प्रमुख योगेश भट्टराईले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेका निर्णयमा एमाले अडिग रहेको बताएका छन् । उनले एमसीसीबारे सत्तापक्षको कदम हेरेर एमालेले निर्णय लिने बताए ।

“सत्तारुढ गठबन्धनले पहिले एमसीसीलाई संसद्‌मा टेबुल गर्नुहुन्छ कि गर्नुहुन्न ? पहिले त्यो हेर्नुपर्यो । टेबुल गर्दा जस्ताको त्यस्तै गर्नुहुन्छ वा संशोधन गर्नुहुन्छ, त्यो पनि क्लियर छैन । त्यसैले हामीले बोल्नु हतारो हुन्छ,” उनले भने ।

भट्टराईले शनिबार पत्रकारहरुसँग भने,“नेकपा हुँदा नै एमसीसीबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल बनेको हो । केही संशोधनसहित एमसीसीलाई अघि बढाउने सुझाव त्यो कार्यदलले दिएको हो । यसको अर्थ एमसीसीलाई अघि अस्वीकार गर्ने भन्ने हाम्रो मत होइन । कतिपय प्रावधानहरुलाई पुनःव्याख्या गरेर राष्ट्रको हितमा प्रावधान राखेर एमसीसी अघि बढाउने भन्ने त्यसबेलाको निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यही निर्णयमा कायम छ । त्यसमा पुग्नुअघि दलहरु र सरकारको निर्णय के हुन्छ त्यो हामी हेर्छौँ ।”