तयारी नपुगेको भन्दै एमालेको विधान महाधिवेशनको मिति डेढ साता पछि सर्‍यो

तयारी नपुगेको भन्दै एमालेको विधान महाधिवेशनको मिति डेढ साता पछि सर्‍यो



काठमाडौं । तयारी नपुगेको भन्दै नेकपा एमालेले विधान महाधिवेशनको मिति डेढ हप्ता पर सारेको छ । ललितपुरको च्यासलमा आज बसेको स्थायी कमिटीको दोस्रो बैठकले असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म गर्ने निर्णय गरेको हो ।

विधान महाधिवेशनको तयारीका लागि स्थायी कमिटीको अर्को बैठक असोज ३ र ४ गते बस्ने भएको छ। त्यसमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरु प्रस्तुत हुने छ । त्यसैगरी असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकबाट दस्तावेज पारित गरेर विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधि परिषद्‌मा रहने सदस्यहरु पनि टुंग्याइएको छ। राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरु स्वतः विधान अधिवेशनको प्रतिनिधि हुने भएपनि त्यसको निर्वाचन नभएकाले विधानको बाधा अड्काउ फुकाउ व्यवस्थामार्फत् नयाँ व्यवस्था गरिएको हो।

यस्तै बैठकले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८–७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको उसको आरोप छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि आफ्नो सरकारले शिलान्याश गरेका १४ सय सडक योजना स्थगित गरेपछि वर्तमान सरकारको निर्णयप्रति आपत्ति जनाएका थियो ।

एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा संयमित भएर प्रस्तुत हुन निर्देशन पनि दिएको छ । एमालेले भोलि संसदीय दलको बैठक पनि बोलाएको छ ।