६ जनालाई लखेटी-लखेटी हत्या गर्ने को हुन् लोकबहादुर ?

६ जनालाई लखेटी-लखेटी हत्या गर्ने को हुन् लोकबहादुर ?



संखुवासभा । संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छ ।

यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे । र, आक्रमण गरेर हत्या गरे । तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए । घरनजिकै रहेको खोलाछेउमा उनीहरूलाई पनि लोकबहादुरले ह्यामरले हिर्काएर हत्या गरे ।

हत्या गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी-लखेटी हत्या गरे । त्यसपछि पनि लोकबहादुरले तेजबहादुरको घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे ।

यो रहस्य भने लोकबहादुर प्रहरीले पक्राउ गरेपछि बाहिरिएको हो । आफन्तसमेत रहेका लोकबहादुरले सपरिवारकै हत्या गरेको स्वीकार गरेको प्रदेश नम्बर १ का डिआइजी अरुणकुमार बिसीले जानकारी दिएका छन् ।

६ जनाको ज्यान जाने गरी भएको गत सोमबारको घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । लोकबहादुरले पनि व्यक्तिगत रिसीबीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन् । हत्या गरिएका तेजबहादुरले केहि गर्न नसकेको भन्दै ‘हेपेका कारण’ आफूले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् ।

त्यसो त २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर नाताले काका-भतिज हुन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।

लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढाइ छोडेका थिए । छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने लोकबहादुर मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए ।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाई छ । त्यसको डेढ बर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे । तर, त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए ।

गत सोमबार तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियो भने श्रीमती मनमाया र बुहारी रन्जनाको शव घरनजिकै खोल्सामा भेटिएको थियो। नाति-नातिनी दीपक र गोमाको शव पनि घरमाथि मकै बारीमा भेटिएको थियो ।

निर्दोष देखिनका लागि लोकबहादुरले छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले पुर्‍याएका थिए । तर, लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियार प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो ।

घटनामा संलग्नलाई आइतबार चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनले भने, ‘घटनामा संलग्नलाई नियन्त्रणमा लिइसकेका छौ, भोलि बिहान १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लोकबहादुर संकाको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा शंकास्पद केही ब्यक्तिको ‘डिएनए’समेत परीक्षण गरिएको थियो । तर, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी लालध्वज सुवेदी नेतृत्वको संयुक्त अनुसन्धानबाट लोकबहादुर बच्न सकेनन् ।