सर्वदलीय बैठक निष्कर्षविहीन, थप संवाद गर्न सभामुखलाई आग्रह

सर्वदलीय बैठक निष्कर्षविहीन, थप संवाद गर्न सभामुखलाई आग्रह



काठमाडौ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ । संसदमा देखिएको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले बोलाएको बैठक नेकपा एमालेले बहिस्कार गरेका कारण कुनै निष्कर्ष ननिस्किएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

आजको बैठकमा सत्तारुढ दलका शिर्ष नेताहरुले एमालेसँग थप वार्ता गरेर सहमति कायम गर्न सभामुख सापकोटालाई सुझाव दिएको उनले बताइन् । एमालेसँग थप छलफल गरेर अर्को बैठक बोलाउन समेत नेताहरुले सभामुखलाई सुझाव दिएका छन् ।

सभामुख सापकोटाले भने आज बिहान समेत एमालेका नेताहरुसँग छलफल गरेको जानकारी गराएका थिए । बैठकमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग छलफल भएको जानकारी गराएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै कानूनमन्त्री कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिृकत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चा उपाध्यक्ष दूर्गा पौडेल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर,र नेमकिपाका सांसद प्रेम सुवाल लगायत सहभागी थिए ।