काठमाडौं, २९ भदौ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ । बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।
संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ भने त्यसलाई जसरी पनि रोक्ने रणनीतिमा नेकपा (एमाले) रहेको बुझिएको छ । सरकारले गत शुक्रबार मात्र प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको थियो । एमालेका सांसदको अवरोधका बीच अर्थमन्त्री शर्माले बजेट ल्याएका थिए ।
तत्कालीन सरकारले अध्यादेश मार्फत ल्याएको बजेट ३ साउनमा संसदमा पेश भएको थियो । २५ भदौमा प्रतिस्थापन बजेट ल्याइयो । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्छ । अर्थात भदौ ३० भित्र पास गरिसक्नुपर्ने दबाब छ । र, राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
एमाले भने संसद बैठकमा बेल घेरेर नाराबाजी गर्दै आएको छ । आइतबारको संसद बैठक पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेको थिएन ।
मंगलबारको सम्भावित कार्यसूचीमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया