देउवाविरुद्ध पौडेल समूहबाट दुई उम्मेदवार

देउवाविरुद्ध पौडेल समूहबाट दुई उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई साझा उम्मेदवार छान्न सकस परेको छ । सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल समूहले गगन थापालाई साथमै राखेर करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो।

साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल समूहका नेताहरूबीच त्यसयता संवाद नै हुनसकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल समूहलाई सकस परेको हाे।

भदौ १७ गते पौडेल पक्षबाट सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहले संयुक्त पत्रकार सम्मेलन गरी १४औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरेका थिए । वडा अविधेशनअघि नै साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल समूहले प्रयास गरेकाे थियाे । भदौ १८ देखि कांग्रेसको वडा अविधेशन सुरु भएको छ ।

साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि आफूहरू एक भएको सन्देश दिन पौडेल पक्षका नेताहरूले १७ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए। तर त्यो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन। पौडेल पक्षबाट सभापतिका आकांक्षी तीन नेता आफ्नो अडानबाट पछि हटेका छैनन्।

पौडेल आफूलाई साझा उम्मेदवार बनाउने कसरतमा लागेका छन् । तर कोइरालाहरु पौडेललाई सभापतिको उम्मेदवार मान्न तयार छैनन् । कोइरालाहरुले शंशाकलाई साझा उम्मेदवारका रुपमा अघि सारिसकेका छन् । यता, गणेशमान पुत्र प्रकाशमान सिंह आफै उम्मेदवार बन्ने तयारीमा छन् । उनी कोइरालाहरुलाई सभापतिको उम्मेदवार मान्न तयार छैनन् । यस्तो अवस्थामा साझा उम्मेदवार को होला भन्ने विषय पौडेल समूहमा पेचिलो बनेको छ ।

यो परिस्थितिमा देउवाविरुद्ध कोइराला परिवारबाट एक तथा पौडेल र सिंहमध्येबाट एक गरी दुई उम्मेदवार हुने सम्भावना छ। देउवाले थप एक कार्यकालका लागि सभापति बन्ने चाहना राखेर तयारी गरिरहनु भएको छ ।

पौडेल समूहबाट देउवालाई कुनै पनि हालतमा सभापतिमा दोहोरिन दिने पक्षमा छैन। तर महाधिवेशनमा पौडेल खेमाबाट सभापतिमा दुई उम्मेदवार भए देउवालाई चुनाव जित्न सहज हुने अनुमान गरिएको छ ।