ओली निवास बालकोटबाट के सन्देश लिएर आए मन्त्री कार्की

ओली निवास बालकोटबाट के सन्देश लिएर आए मन्त्री कार्की



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको संसद अवरोध खुलाउन आग्रह गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् ।

एमालेले संसद अवरुद्ध गरेको कारण सरकारले प्रतिस्थापन विधेयक पारित गर्न सकेको छैन । विधेयक पारित नभएको कारण बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । सरकारी खर्च बन्द भएपछि प्रतिपक्ष र सत्तापक्ष दुबैको आलोचना भएको बेला कार्की प्रमुख प्रतिपक्ष दलका नेता ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । उनी प्रधानमन्त्री देउवाको सन्देश लिएर बालकोट पुगेका हुन् ।

आजै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए । जुनसुकै पदमा रहे पनि विद्या र ओलीबीच एकदमै निकट मानिन्छन् । यता, राष्ट्रपति भण्डारी र मन्त्री कार्कीबीच पारिवारिक नाता पर्छ । यो सम्बन्धले नयाँ निकास निस्कन सक्ने राजनीतिक वृत्तमा अनुमान गरिएको छ । त्यसैले बालकोटबाट मन्त्री कार्कीले सकरात्मक सन्देश बोकेर सिधैं बालुवाटार पुगेको बताइएको छ ।