विकास र समृद्धिका लागि एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ : कानूनमन्त्री

विकास र समृद्धिका लागि एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ : कानूनमन्त्री



काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

शुक्रवार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको बिकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन् । उनले एमसीसी बिकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे । एमसीसी संसदबाट पास गराउनको लागि सबैबीच सहमतिको खाँचो रहेको मन्त्री कार्कीको भनाई छ ।

मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए । संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे ।