ओलीकै बाटोमा मुख्यमन्त्री आचार्य र शाक्य

ओलीकै बाटोमा मुख्यमन्त्री आचार्य र शाक्य



काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने र मुख्यमन्त्रीबाट हटाउने निश्चित भइसकेपछि पनि बागमती र प्रदेश १ का मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

अध्यक्ष केपी ओली निकटका मुख्यमन्त्रीको ठाउँमा आएका भीम आचार्य र अष्टलक्ष्मी शाक्यले प्रदेश सांसदलाई एमालेमै टिकाउन मन्त्री पद अफर गरे पनि यी दुवै प्रदेश सरकार ढल्ने निश्चित छ ।

एमाले फुट्यो, एकपछि अर्को एमाले नेतृत्वका सरकार गर्ल्यामगुर्लुम्म ढले । गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले सत्तामा टिक्न तात्कालिन प्रधानमन्त्री ओलीकै बाटो अपनाए पनि हातमा लाग्यो शून्य ।

ओलीका विश्वासपात्र दुबै मुख्यमन्त्री बेरोजगार मात्र बनेन्, उनीहरुले रोजगारी दिएका मन्त्री र कार्यकर्ताको पनि बिचल्ली भयो । यही बीच एमाले विभाजनपछि ढल्ने निश्चित भएका प्रदेश १ र बागमती प्रदेशमा एमालेले सत्ता बचाउन र लम्ब्याउन अध्यक्ष ओलीकै बाटो अपनाएको छ ।

संघीय सरकार बचाउन ओलीले जसपाको महन्थ ठाकुर समर्थक सबैजसो सांसदलाई मन्त्री बनाएर टिकाउन खोजेको सत्ता त सर्वोच्च अदालतले बालकोटको विसौनीमा ब्रेक लगाइदियो नै । तर प्रदेश १ र बागमतीका मुख्यमन्त्रीले भने यही फर्मुलामा सरकार टिकाउन लगाएका छन् ।

एमाले अध्यक्ष ओलीको चरम आलोचक बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केही दिन अघि मन्त्रिपरिषद् विस्तार गरेका छन् । कम्तिमा यो कार्यकाल मुख्यमन्त्री बन्दिनँ भनेर आफैँले गरेको बाचा पनि मुख्यमन्त्रीको कुर्सीमा तिलान्जली दिएकी शाक्यले सरकार प्रष्ट अल्ममतमा परिसकेपछि पनि सत्ता बचाउने अन्तिम अस्त्रकारुपमा मन्त्रिपरिषद विस्तार गरेकी हुन् ।

प्रदेश १ मा पनि मुख्यमन्त्रीकै लागि विगतका तिक्तता चटक्कै बिर्सेर म्यादी सपथ ग्रहण गरेका भीम आचार्यले पनि मन्त्रिपरिषद् विस्तार गरे । दुबै प्रदेशमा सत्तागठबन्धनले मुख्यमन्त्री हटाउने अविश्वासको प्रस्तावको तयारी गरेका छन् ।