कांग्रेसले क्रियाशील सदस्यता विवाद आज टुंगो लगाउने

कांग्रेसले क्रियाशील सदस्यता विवाद आज टुंगो लगाउने



काठमाडौं । कांग्रेस नेताहरुबीच आजसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर वडा अधिवेशन अघि बढाउने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग छलफल गरी क्रियाशील सदस्यताको टुंगो लगाएर समयमै महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा छलफल गर्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी रहेका १३ जिल्लाको विषयमा नेताहरुबीच छलफल भएको थियो । बैठकमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सिटौला नेतृत्वको कार्यदलका सदस्यहरु मीनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी थिए ।

कांग्रेसले अब बाँकी रहेका जिल्लाहरुमा असोज ५ मा वडा तहको अधिवेशन गर्ने मिति तोकेको छ । तर अहिलेसम्म १३ जिल्लाको सदस्यताको टुंगो लागेको छैन । शीर्ष नेताहरुले सकेसम्म सहमतिबाटै सदस्यताको टुंगो लगाउने र नभए बहुमतबाट भए पनि टुंगोमा पुग्न निर्देशन दिएका छन् ।