सहमति र सहकार्यबाट संविधान कार्यान्वयन अघि बढाइनेछ : प्रधानमन्त्री देउवा

सहमति र सहकार्यबाट संविधान कार्यान्वयन अघि बढाइनेछ : प्रधानमन्त्री देउवा



काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति र सहकार्यबाट संविधानको कार्यान्वयनलाई अघि बढाउने बताएका छन् । संविधान तथा राष्ट्रिय दिवस २०७८ विशेष समारोहलाई टुँडिखेलमा सम्बोधन गर्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै विकास समृद्धि कायम गर्नु प्रमुख लक्ष्य रहेको बताए ।

‘दिगो शान्ति कायम गरी संविधानको पूर्ण पालना गर्नु कर्तव्य हो । नागरिकको जिउधन रक्षा सरकारको मुख्य लक्ष्य हो,’ उनले भने । देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउने लक्ष्य सरकारले लिएको पनि जानकारी गराए ।

राजनीतिक परिवर्तनप्रतिको नेपाली जनताको चाहना यस संविधानबाट सम्बोधन भएको उल्लेख गर्दै देउवाले संविधानको रक्षा एवं कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । ‘यसको सफल कार्यान्वयनबाट आर्थिक र सामाजिक रुपान्तरण गरी समृद्धितर्फ अघि बढ्न सबैले संकल्प गरौं । नेपाल सरकार प्रतिबद्ध छ,’ उनले भने ।

संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन परिमार्जन गर्दै जाने उल्लेख गर्दै देउवाले सहमति सहकार्यबाट अघि बढ्ने र न्याय समानतासहहित सबल नेपालको निर्माण गरिने बताए । नागरिकका इच्छा आकांक्षा सम्बोधन गर्दै सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

‘भौगाेलिक अखण्डता, स्वाधिनता, सुशासनमा सरकार प्रतिबद्ध छ । व्यवहारमा उतार्न अधिकतम प्रयास गरिनेछ,’ उनले भने । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र गतिशील बनाउन सातौ संविधान दिवसले शक्ति र प्रेरणा देओस् भनि प्रार्थना गरे ।