राजदूत खतिवडासहित १० देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

राजदूत खतिवडासहित १० देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले १० देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएर राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

राजनीतिक नियुक्ति पाएका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र पूर्व अर्थमन्त्री समेत रहेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । परराष्ट्र सेवाका करिअर डिप्लोम्याट बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको मन्त्री कार्कीले बताए ।

फिर्ता बोलाइएका राजदूतको सूचि
१) महेन्द्रबहादुर पाण्डेय (चीन)
२) डा. वंशीधर मिश्र (बंगलादेश)
३) नारदमुनि भारद्धाज (कतार)
४) युवराज खतिवडा (अमेरिका)
५) अञ्जान शाक्य (इजरायल)
६) उदयराज पाण्डे (मलेसिया)
७) दावाफूटी शेर्पा (स्पेन)
८) डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
९) नीलाम्बर आचार्य (भारत)
१०) लोकदर्शन रेग्मी (बेलायत)