डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने पक्का, अरुको टुंगो लागेन

डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने पक्का, अरुको टुंगो लागेन



काठमाडौं । राष्ट्र संघीय महासभाको मिति आइरहेका बेला अन्य मन्त्रीको टुंगो लगाउन नसके पनि सत्तारुढ गठबन्धनले त्यहाँ पठाउने गरी परराष्ट्र मन्त्रालयमा नेतृत्व पक्का गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा यसअघि सहरी विकास मन्त्री भइसकेका कांग्रेसका केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुखसमेत रहेका डा. नारायण खड्कालाई ल्याउने भएका हुन्। देउवाको नेतृत्वमा मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

‘सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गरौं, अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको छ,’ गठबन्धन स्रोतले भन्यो, ‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ ।’

प्रधानमन्त्री देउवा राष्ट्रसंघीय महासभामा सहभागी नहुने भएका छन्। नेपाल सार्क परिषद्को अध्यक्षसमेत भएकाले राष्ट्रसंघीय महासभामा राजनीतिक नेतृत्वको आवश्यकता गठबन्धनले महसुस गरेको हो।

स्रोतका अनुसार खड्काको शपथ भने बुधबार हुनेछ। उनी उदयपुर १ उदयपुर क्षेत्र नम्वर १ लगातार निर्वाचित हुँदै आएका छन् । अन्य मन्त्रीहरुको टुंगो भने बिहीबारको बैठकले गर्ने ती नेताले जानकारी दिए। बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए।

काे हुन् नारायण खड्का ?

डा. नारायण खड्का भूतपूर्व सहरी विकास मन्त्री हुन् । उदयपुर, क्षेत्र नं.१ बाट संविधानसभामा निर्वाचित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन् । उनले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेदारी सम्हालिसकेका छन् । भोजपुरमा जन्मेका डा.खड्काले विद्यार्थी राजनीति मार्फत २०२३ सालमा राजनीतिक यात्रा शुरु गरेका हुन्र्नु । यस क्रममा विराटनगर र काठमाडौंमा उनी पटक पटक पक्राउ परेका थिए ।

पुना, भारतबाट अर्थशास्त्रमा पी-एच्. डी. गरेका डा. खड्काको विशेष रुचि अध्ययन र समाजसेवामा छ। पत्रपत्रिकामा उनका राजनीति र अर्थनीति सँग सम्बद्ध विश्लेषणात्मका लेखहरू प्रकाशित हुँदै आएका छन्। जनता सँगको निकट सम्बन्धले आफूलाई संविधानसभामा विजयी बनाएको बताउने डा. खड्का संविधानसभामा देशको आर्थिक विकास, बेरोजगारी उन्मूलन तथा सङ्घिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुद्दा प्रमुखतासाथ उठाउदै आएका छन् ।