आज ६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन

आज ६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन भएका ६४ जिल्लामा आज पालिका तहको अधिवेशन हुँदैछ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन आज गर्ने निर्णय गरे पनि काठमाडौंको भने असोज १६ गते हुनेछ । १३ जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ।

सिंहदरबारमा हिजो शुक्रबार बसेको पदाधिकारी बैठकमा सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्लाको विवाद तत्काल टुंगो लगाउने र दसैंअघि सबै जिल्लाको वडा र पालिका तहको अधिवेशन गर्ने समझदारी बनेको छ।

संस्थापन पक्षले हिमाली २१ जिल्लाका सबै तहको अधिवेशन दसैंअघि नै सम्पन्न गर्ने र अन्य जिल्लामा तिहारपछि मात्र अधिवेशन गर्ने प्रस्ताव राखेको छ। तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय कार्य समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ।

सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ। पाँचौं पटक फेरिएको कार्यतालिकाअनुसार कांग्रेसले भदौ १८ गते देशभरिका ६ हजार सात सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने जनाएको थियो।

तर अहिलेसम्म प्रदेश २ का आठ जिल्लासहित १३ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगो लाग्न सकेको छैन। अधिकांश पालिकाको नेतृत्वका लागि केन्द्रमा रहेको संस्थापन र पौडेल समूहले प्यानलसहित उम्मेदवार उठाएको छ ।