कांग्रेस १४औं महाधिवेशन: पुरुषलाई हराएर सभापति बनेकी यी हुन् अब्बल महिला

कांग्रेस १४औं महाधिवेशन: पुरुषलाई हराएर सभापति बनेकी यी हुन् अब्बल महिला



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उदाहरणीय परिणाम सार्वजनिक भइरहेका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकामा सभापति पदका लागि भएको निर्वाचनमा पुरुषलाई पराजित गर्दै महिला गाउँपालिका सभापति बनेकी छन् ।

गाउँपालिकामा जननिर्वाचित उपाध्यक्ष समेत रहेकी सिता केसीले पार्टीको चुनावमा प्रतिद्वन्द्वी टेकबहादुर बिष्टलाई पराजित गरेकी हुन् । केसी सभापति शेरबहादुर देउवा पक्षबाट र बिष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मैदानमा उत्रिएका थिए ।

चुनावअघि केसीले बिष्टलाई फोन गरेर आफू महिला भएकाले सर्वसम्मत गरिदिन आग्रह गरेकी थिइन् तर बिष्टले नमानेपछि चुनाव भएको थियो । चुनावमा केसीले ६१ मत ल्याउँदा बिष्ट ४२ मत ल्याएका थिए । आफू पार्टीको पालिकास्तरीय नेतृत्वमा आउँदासम्म परिवारबाट सहयोग पाइरहेको बताएकी छन् ।

गाउँपालिकामा जननिर्वाचित उपाध्यक्ष रहेकी केसीले आसन्न स्थानीय तह निर्वाचनमा पालिका अध्यक्षमा उम्मेदवार बन्ने इच्छा राखेकी छन् । त्यसअघि केसी पार्टीको पालिका नेतृत्वमा पुगिसकेकी छन् ।