१० बुँदै कार्यान्वयन भइसक्यो, बाँकी हामी मिलाउँछौँ : भीम रावल

१० बुँदै कार्यान्वयन भइसक्यो, बाँकी हामी मिलाउँछौँ : भीम रावल



काठमाडौँ । नेकपा (एमाले)ले पार्टी एकतालाई अझै सुदृढ बनाउने भएको छ । १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्या समाधान गरेर आन्तरिक एकतालाई सुदृढ बनाउने एमालेको निष्कर्ष छ ।

१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको अन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो ।

नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताएका छन् । १० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यता नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि बनाइएको कार्यदल संयोजक रावलले अब विस्तारै सबै मिल्दै जाने बताए ।

“आजको बैठकमा हामीले १० बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनबारे छलफल गरेका छौँ,” रावलले भने,“त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका उपाय पनि खोजिएको छ ।”

रावलले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने पनि बताए । “जहाँ जहाँ समस्या छन् त्यहीअनुसार समाधान गर्छौँ,” उनले भने,“नीतिगत व्यवस्था गरेर हामी मिलाउँछौँ ।”

उनले १० बुँदे धेरै ठाउँमा कार्यान्वयन भएको दोहोर्याए । “१० बुँदे कार्यान्वयन धेरै ठाउँमा भएका छ,” रावलले भने,“जुन ठाउँमा कार्यान्वय भएको छैन । त्यहाँ पनि कार्यान्वयन गरेर लैजान्छौँ ।”

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल, घनश्याम भुुसाल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।