प्रधानमन्त्री देउवाले बोलाए गठबन्धन बैठक, मन्त्रिपरिषद् विस्तार भोलि पनि नहुने

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धन बैठक, मन्त्रिपरिषद् विस्तार भोलि पनि नहुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेपछि देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तागठबन्धनको बैठक भोलि बोलाइएको पुष्टि गरेका छन् । गठबन्धनको बैठकमा मन्त्रालयको भागवण्डा टुंगो लगाउने र मन्त्रिपरिषद विस्तार गर्ने निर्णय हुने सम्भावना छ । भोलि नै मन्त्रालयको भागवण्डा हुने भएकाले भोलि नै मन्त्रिपरिषद विस्तारको सम्भावना भने कम छ ।

गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकको निर्णयानुसार सरकारले दल विभाजनसम्वन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष गरिएको सिफारिस स्वीकृत भइसकेको छ । नेकपा समाजवादी र जसपाको माग अनुसार सो अध्यादेश खारेज गरिएको हो ।

सो अध्यादेश खारेजपछि प्रधानमन्त्री देउवाले गठबन्धन दलसित मन्त्रीको नाम मागेका थिए । अहिलेसम्म मन्त्रालयको नाम भागवण्डा नमिलेकाले दलहरुले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । दलहरुबीचमा पावरफूल मन्त्रालय भागवण्डामा आफ्नो दललाई पार्ने ध्यानमा छन् ।

पछिल्लो समय नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी परेका छन् । त्यस्तै प्रधानमन्त्री देउवाको तर्फबाट संयोजनकारी भूमिका खेल्दै आएका महामन्त्री पूर्णबहादुर खड्का पनि बिरामी भएकाले गठबन्धनमा थप अलमलमा परेका थियो । त्यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादव पनि मधेसतिर रहेकाले पनि बैठक बस्न सकेको थिएन ।