ओली कार्यकारी पदमा पुनः दोहोरिन चाहन्छन्

ओली कार्यकारी पदमा पुनः दोहोरिन चाहन्छन्



काठमाडौं । नेकपा एमालेमा दुई कार्यकाल दोहोर्‍याउन नपाइने र ७० वर्षे उमेर हदबन्दीको चर्चा व्यापक छ । स्वयम् अध्यक्ष केपी शर्मा ओलीले पनि यसअघि आफू अब पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा नहोदोरिने प्रतिबद्धता जनाएका थिए । तर अहिले विधानमै दुई कार्यकाल र ७० वर्षे उमेर हदको व्यवस्था राख्ने चर्चा चलिरहँदा ओलीमा पुन: कार्यकारी पदमा दोहोरिने आकांक्षा बढ्दै गएको देखिएको छ ।

कुनै पनि कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने विषयमा विभिन्न दलमा बहस हुँदै आएको हाे । पटकपटक परीक्षण भएको व्यक्ति नदोहोरिउन् र नयाँ व्यक्तिले अवसर प्राप्त गर्न सकून् भनेर यो बहस भएकाे थियाे । खासगरी नेपाली कांग्रेस, नेकपा एमाले जस्ता ठूला दलमा यो बहस बढी केन्द्रित छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै आफू पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पदमा नहोहोरिने घोषणा गरेका थिए । तर हालै सम्पादकहरुसँगको साक्षात्कारमा ओलीले आगामी महाधिवेशनबाट पुनः पार्टी अध्यक्षमा दोहोरिने संकेत गरे ।

यसको अर्थ ओलीका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्रीभन्दा माथि जाने ठाउँ छैन । त्यसैले उनी फेरि पार्टी अध्यक्ष भएर काम गर्न चाहन्छन् । ओलीले एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा रहँदा नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा आफ्नो अन्तिम कार्यकाल भएको घोषणा गरेका थिए ।

सायद त्यतिबेला अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्ने दबाब बढिरहेकाले उनले यी कुरा भनेका हुनसक्छ । माधवकुमार नेपालले छाडेपछि एमाले पार्टीको नेतृत्व लिन दोस्रो पुस्ता तयार नभएको अवस्थामा अध्यक्ष पदमा दोहोरिन खोजेको ओलीको संकेत रहेको विश्लेषक बताउँछन् ।

नेपालका नेताहरु आफ्नो बोलीमा र प्रतिबद्धतामा अडिग रहँदैनन्, आज एउटा कुरा भोलि अर्को कुरा गर्ने, हिजो ठिक आज बेठिक भन्ने नेताहरुको चरित्र नै भन्दा अतियुति हुँदैन । त्यसैले होला ओलीले हिजो के बाेले र आज के बोल्दै छन् भन्ने कुराले खासै अर्थ नराख्ने विश्लेषकको ठ्म्याइँ छ ।