बानियाँलाई अढाइ महिना मुख्यमन्त्री बनाउने देउवाको प्रस्ताव आपत्तिजनकः डा. शेखर

बानियाँलाई अढाइ महिना मुख्यमन्त्री बनाउने देउवाको प्रस्ताव आपत्तिजनकः डा. शेखर



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिना मुख्यमन्त्री मागेको कुरा प्रति आपत्ति जनाएका छन् ।

कोइरालाले कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य रहेको बताएका छन् ।

महाधिवेशनलाई लक्षित गरी वागमतीमा अढाइ महिना मुख्यमन्त्री इन्द्र बानियाँलाई बनाउनुपर्यो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेको सार्वजनिक भएको थियो ।

दाहालले अढाइ महिना मुख्यमन्त्री बनाउन सहमत्ति जनाए पनि नेपालले भने पार्टीभित्र छलफल नगरी केही बताउन नसकिने बताइएको थियाे । वागमती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुुख्यमन्त्री छन् । उनले दशै अघि विश्वासको मत लिने तयारी गर्दागर्दै यस्तो कुरा बाहिरिएको हो ।

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले यस्ता क्रियाकलापले पार्टी कमजोर हुने बताए । कोइराला लेख्छन्, ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउँन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु ।’