प्रचण्ड भक्कानिँए- ‘म अब आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें’

प्रचण्ड भक्कानिँए- ‘म अब आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगेको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका हुन् ।

तर उनले आफू पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको पनि बताए । प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए ।

भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग सुनाउँदै प्रचण्डले आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको बताए ।

प्रचण्डले भने, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’

यसो भन्दैगर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’

आफु सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै प्रचण्डले भने, ‘तर सबै कार्यकर्ता सडकमा आए ।’ २०५२ फागुनमा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डको भनाई छ ।