‘ओलीले धोका दिएपछि मैले हेडक्वार्टरमा बम गिराइदिएँ’

‘ओलीले धोका दिएपछि मैले हेडक्वार्टरमा बम गिराइदिएँ’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीविरुद्ध आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिएका छन् ।

माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको समेत बताए ।

प्रचण्डले भने, ‘मैले पेश गरेको डकुमेन्ट भनेको बमवार्ड द हेडक्वाटर’ हो । जसरी माओत्सेतुङले बमबार्ड त बुर्जुवा हेर्डक्वाटर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ ।’

उनले थपे, ‘एउटा प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै थियो । जे पनि हुन सक्थ्यो । तर, देश दुर्घटनामा पर्न नदिन मैले त्यो गर्नैपर्ने थियो ।’

प्रचण्डले ओली प्रधानमन्त्री छँदा ३ वर्ष आफूलाई बालुवाटारको बन्दी भएको अनुभव पनि सुनाए । उनले भने, ‘बिहानै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ । माओवादी आन्दोलनको, जनयुद्धको कमाण्डर दिनदिनै जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी केपी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला । म मौकाको पर्खाइमा थिएँ । जब अ‍ोलीले प्रतिनिधिसभा विघटन गरिदिए, म धकेलिएर सडकमा आइपुगेँ।’