काङ्ग्रेस रुकुम पूर्व सभापतिमा केशरमान सर्वसम्मत

काङ्ग्रेस रुकुम पूर्व सभापतिमा केशरमान सर्वसम्मत



काठमाडौं । नेपाली काङ्ग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका मगर निर्वाचित भएका छन्। आज भएको जिल्ला अधिवेशनबाट रोका जिल्ला सभापतिमा सर्वसम्मत चयन भएको काङ्ग्रेसले जनाएको छ। सभापतिमा रोकाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध जिल्ला सभापति चयन भएको निर्वाचन अधिकृत ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए ।

रोका पूर्वसहायकमन्त्री समेत हुन् । रोका पुथाउत्तरगंगा गाउँपालिकाका स्थायी बासिन्दा हुन्। छुट्टै जिल्ला बनेपछि कांग्रेसको यो पहिलो जिल्ला अधिवेशन हो। उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा मगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार नै मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन्। अहिलेसम्म अधिवेशन सकिएका दुई जिल्लामा सभापति निर्वाचित भएका दुबै जना रामचन्द्र पौडेल पक्षका हुन्। १४ औं महाधिवेशन अन्तर्गत काङ्ग्रेसले जिल्ला अधिवेशन तथा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन सुरू गरेको छ।