काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले बेहोर्नुपरेको कृषि तथा आर्थिक क्षतिको समेत विस्तृत हिसाबकिताब गर्नुपर्ने बताएका छन् ।
संसद्को सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका क्रममा झाले सरकारको राजस्वमा भएको नोक्सानीको मात्र हिसाब गरेर नपुग्ने बताएका हुन् ।
उनले आयोजना ढिलाइ हुँदा किसानले गुमाएको कृषि उत्पादन, आम्दानी र अवसरको समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।
आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति खेती प्रभावित भयो, कति सिजन सिँचाइ हुन सकेन र त्यसबाट किसानले कति अवसर गुमाए भन्ने विषयको अध्ययन हुनुपर्ने उनको भनाइ छ ।
झाले सुनकोशी–मरिण आयोजनाबाट १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए कति खेती हुन्थ्यो र त्यसबाट कति उत्पादन प्राप्त हुन्थ्यो भन्ने विषयको समेत मूल्यांकन गर्नुपर्ने बताए ।
आयोजना रोकिँदा आगामी दिनमा पनि कति खेती सिँचाइबाट वञ्चित हुने र त्यसबाट कति क्षति पुग्नेछ भन्ने हिसाब निकाल्नुपर्ने उनले बताए ।
उनले २०८२ साल कात्तिक २५ गते बोलपत्र रद्द गरिएको विषय उठाउँदै पहिल्यै बोलपत्र प्रक्रिया पूरा भई निर्माण कार्य अघि बढेको र सुरुङको ब्रेकथ्रुसमेत भइसकेको आयोजनामा नयाँ विधि तथा प्रक्रिया किन लागू गरियो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरे ।
त्यस्तै, आयोजना रोक्ने वा रद्द गर्ने निर्णयमा राजनीतिक पूर्वाग्रह राखिएको हो वा होइन भन्ने विषयमा समेत निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ ।
भविष्यमा कुनै पनि सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रिय महत्त्वका आयोजना रोक्ने वा रद्द गर्ने अवस्था आउन नदिन यस्ता निर्णयको गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए ।
झाले आयोजनाको लागत र क्षतिको मूल्यांकन गर्दा राज्यकोषमा भएको आर्थिक नोक्सानीलाई मात्र आधार बनाउन नहुने स्पष्ट पारे ।
‘यो आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति अवसरको क्षति भएको छ ? कतिवटा सिजनमा हाम्रा खेतले पानी पाएनन् ? कतिवटा खेती सिँचाइबिना गर्नुपर्यो ? त्यसबाट भएको क्षतिको हिसाब कसले गर्ने ?’ उनले प्रश्न गरे ।
उनले १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए हुने उत्पादन र किसानले प्राप्त गर्ने आम्दानीको समेत मूल्यांकन गर्नुपर्ने बताए ।
‘सरकारको राजस्वमा कति नोक्सानी भयो भन्ने कुरा मात्र हामीले हिसाब गरेर हुँदैन । यसको वास्तविक लागत त किसानले आफ्नो खेतीमार्फत बेहोरिरहेका छन् । उनीहरूले बेहोरेको क्षतिको हिसाबकिताब कसले गरिदिने ?’ झाले भने ।
उनले २०८२ साल कात्तिक २५ गते बोलपत्र रद्द गरिएको निर्णय, त्यसअघि पूरा भएको खरिद प्रक्रिया र निर्माणको अवस्था तथा नयाँ विधि लागू गर्नुको कारणबारे समेत छानबिन गर्नुपर्ने बताए ।
आयोजना रोक्ने निर्णयले किसानलाई परेको असरको मूल्यांकन नगरी आर्थिक क्षतिको पूर्ण हिसाब नआउने उनको तर्क थियो ।
सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले यसअघि आयोजनासम्बन्धी थप अध्ययन तथा छानबिनका लागि सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
झाले किसानले बेहोरेको क्षतिसमेत समेटेर विस्तृत अध्ययन गर्ने जिम्मेवारी सार्वजनिक लेखा समितिले लिनुपर्ने बताए । उनले राज्यकोषमा भएको क्षतिसँगै किसानले गुमाएको उत्पादन, आम्दानी र सिँचाइको अवसरसमेत समेटेर अध्ययन सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया