ओम बिक्रम बिष्टको गीतबाट राजबल्लभको अभिनयमा कमब्याक (भिडियाे)

ओम बिक्रम बिष्टको गीतबाट राजबल्लभको अभिनयमा कमब्याक (भिडियाे)



काठमाडौं। ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’, ‘सुन चाँदीभन्दा’, ‘बदनाम भै नजाऊ’, ‘नभनिदेउ तिम्रो ओठको लाली’, ‘म सम्झन्थे हो’, ‘मलाई मात्रै हो कि प्रिति बिझाएको’ जस्ता कालजयी गीतका गायक ओम बिक्रम बिष्टको स्वर तथा संगीतमा रहेको गीत ‘उनि आउने …’ को भिडिओ रिलीज भएको छ । हाल अमेरिकामा उपचार पश्चात स्वास्थ्यलाभ लिईरहेका बिष्टले यो गीत केहि बर्ष अगाडी नै तयार गरेका थिए ।

म्याक्स टिभि नेपालले निर्माण गरेको यो गीतको भिडिओमा अमेरिका बस्दै आएका चर्चित अभिनेता राजबल्लभ कोईरालाले अभिनय गरेका छन् । उनको साथमा संजिता कोईरालाको अभिनय रहेको छ । ‘मोडहरुमा’ एल्बममा समावेश यस गीतमा विजय शिवाकोटीको शब्द रचना रहेको छ । गीतको भिडिओलाई नवराज आचार्यले निर्देशन गरेका छन् । अमेरिकामा नै पुर्ण छायांकन गरिएको यस भिडिओका निर्देशक आचार्यले एक दशक अगाडी ‘कलिउड’ नामक नेपाली चलचित्रको निर्देशन गरेका थिए । आचार्य पनि हाल अमेरिकामा नै बस्दै आएका छन् । भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिंग गरेको भिडिओका छायाँकार शम्भु मोक्तान हुन् ।

अभिनेता कोईरालाले गायक ओम बिक्रम बिष्टको गीतमा अभिनय गर्न पाउनु एउटा राम्रो अवसर भएको बताए । ‘शुरुमा म भिडिओको लागि तयार छु कि छैन जस्तो लागेको थियो । जब मैले भिडिओको कन्सेप्ट सुने, त्यसलाई मैले न्याय गर्न सक्ने अवस्था देखेँ । ओम दाईको गीतमा काम गर्न पाउनु र टीम नै राम्रो देख्दा मैले राम्रो अवसर पाएको जस्तो लाग्यो । अमेरिकामा बनाए पनि काम एकदमै राम्रो भएको देखिएको छ’, राजले बताए ।

केहि बर्षदेखि अमेरिकामा बस्दै आएका राजले अमेरिकामा रहँदा तीनवटा म्युजिक भिडिओमा अभिनय गरेका छन् । पछिल्लो पटक उनले तीन बर्ष अगाडी अम्बिका गुरुंग र रामकृष्ण ढकालको गीतमा अमेरिकाबाट नै अभिनय गरेका थिए । नेपालमा अभिनयमा सक्रिय रहँदा त्यतिबेलाका चर्चित निर्देशकहरु भुषण दाहाल, आलोक नेम्वांग, प्रसन्न पौडेल लगायतसँग केहि म्युजिक भिडिओ गरेका थिए । कोईरालाले ‘पर्खि बसेँ’, ‘गुरु दक्षिणा’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘प्रितिको फुल’, ‘मसान’, ‘ऋतु’ लगायतका तीस बढि नेपाली चलचित्रहरुको साथमा हलिउड चलचित्र ‘हाईवे टु धम्पुस’मा अभिनय गरेका छन् । नेपालमा उनि पहिलो चलचित्र ‘पर्खि बसेँ’ चलचित्रबाट सुपरहिट भएका थिए ।

‘पहिले चलचित्रमा भएको व्यस्तताले मैले धेरै म्युजिक भिडिओ गर्न सकेको थिईन । पहिले चलचित्र भन्दा माथी म्युजिक भिडिओलाई हेरिदैनथियो थिएन, अहिले अवस्था फरक भईसकेको छ । म्युजिक भिडिओलाई पनि उस्तै महत्व दिने गरिन्छ’, आफु भिडिओमा अभिनयको लागि सँधै तयार रहेको बताउँदै उनले भने, ‘मैले चाहेर मात्र यहाँ अभिनय गर्न सक्दिन । मैले संख्या मात्र थपेर हुँदैन । श्रोत र साधनको कुराले यहाँ कम भिडिओहरु तथा चलचित्रहरु बन्छन् । मैले चाहेर मात्र नभएता पनि म काम गर्नको लागि तयार चाहिँ छु । हालै मात्र एक फिल्मको अफर पनि आएको छ’ ।

भिडिओका निर्देशक नवराज आचार्यले अमेरिकामा राम्रो भिडिओ बनाउन निकै चुनौती रहेको र त्यसबीचमा पनि आफुले राम्रो भिडिओ बनाउने कोशिस गरेको बताए । ‘हामीले सक्ने जति सबै श्रोत उपयोग गरि भिडिओ बनाएका छौं । मेरा कलाकारहरु तथा सम्पूर्ण टीमको साथबीना यो असम्भव थियो । अभिनेता राजबल्लभ कोईरालालाई र अभिनेत्री संजिता कोईरालाको काम उत्कृष्ट छ’, आचार्यले बताए । अभिनेत्री संजिता कोईराला टिकटकमा हिट छन् । हाल अमेरिका बस्ने कोईरालाले नेपालमै रहँदा ‘मेरो माया शहर तिर’, ‘झापा झर्‍योकी’ जस्ता म्युजिक भिडिओहरु तथा नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘किनारा’ श्रृंखलामा प्रमुख अभिनय गरेकी थिईन् । भिडिओमा राज र संजिताको साथमा एन्सेर्ज गुरुंग, जंग्बु शेर्पा र नबिन ढकालको पनि अभिनय रहेको छ ।

निर्देशक आचार्यका अनुसार यो भिडिओ दुई बर्ष अगाडी नै बनाउन तयार भएता पनि गायक बिष्टको स्वास्थ्य समस्याको कारण ढिलाई भएको थियो ।

भिडियाे