दमदार गीतको साथमा फर्किए निमा रुम्बा (भिडियो)

दमदार गीतको साथमा फर्किए निमा रुम्बा (भिडियो)



काठमाडौं। मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि, मेरी प्रियसी जस्ता लोकप्रिय गीतका गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किएका छन् । हालै मात्र रुम्बाको नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)’को भिडियो सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ ।

निमाले आर एण्ड बि र ऱ्याप शैलीको समिश्रण रहेको ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ)’ बि.सं. २०५० मा ल्याएका थिए, जुन गीत अलटाईम हिट गीत हो । हाल सार्वजनिक गीत निमाले केही वर्षअघि नै रेकर्ड गराएका थिए । उक्त गीतका लागि निमा रुम्बा र गायक स्व. सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए । सुनीलको असामयिक निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ । यो पप, इडिएम, डिस्को र आर एण्ड बि शैलीको फ्युजन गीत हो ।

अमेरिकामा खिचिएको यो गीतको भिडियोमा निमा आफैं प्रमूख भूमिकामा छन् । उनको साथमा मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्मा र मिस्टर यूएसए तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहले प्रमूख अभिनय गरेका छन् । यि कलाकारसँगै केहि अमेरिकन कलाकारहरुको पनि अभिनय रहेको छ । गीतको भिडियो बनाउने क्रममा अण्डरकभर मिशनमा रहेका जासुस कथा समेटिएको छ ।

यो भिडियोका निर्देशक आशिष श्रेष्ठ हुन् । भिडियोमा पटकथा र सम्पादन पनि उनकै रहेको छ । भिडियो युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको हो । भिडियोका सह-निर्माता उज्ज्वल सिंह हुन् ।

गायक रुम्बाले आफ्नो गीतको भिडियो हलिउड स्तरमा तयार भई रिलीज भएकोमा खुसी व्यक्त गरे । गीत रिलीजसँगै उनले आफ्नो केहि समयको ग्यापलाई यो गीतले पुर्ण गर्न सफल रहनेमा बिश्वास रहेको बताएका छन् । भिडियो निर्देशक आशिष श्रेष्ठले गायनमा निमा रुम्बाको विरासतलाई यो गीतले कायम राख्न मद्दत पुगोस् भन्ने हेतुले लामो समयको मेहनत पछि भिडियो रिलीज गरेको बताए ।

भिडियो