प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै



काठमाडौं, १९ असोज । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

निरन्तर संसद बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि बैठक अवरोधलाई जारी राख्ने जनाएको छ । गत भदौ २३ गतेदेखि सुरु भएको संसद्को नवौँ अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूची सार्वजनिक नगरेर एमाले विभाजनमा सभामुखले संलग्नता देखाएको आरोप लगाउँदै एमालेले सदनमा अवरोध गर्दै आएको हो ।

सरकार विपक्षीलाई पेलेरै अघि बढ्ने स्थितीमा देखिएको छ भने विपक्षी दल आफ्नो मागको सुनुवाइ नभएसम्म बैठक चल्न नदिने अडानमा छ । एमालेको अवरोधकैबीच बजेट समेत पास भइसकेको छ ।