नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?



काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको बुझिएको छ। प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाएका हुन् ।

कांग्रेसका एक नेताका अनुसार पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने तयारीमा छन् । देउवाले पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय दिने तयारी गरेका छन् । देउवाले अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी गरेको ति नेताले जानकारी दिए । कांग्रेसको भागमा परेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी र पुष्पा भुषालमध्ये एक जनालाई पठाउने तयारी छ ।

दुवै जना सभापति देउवानिकट हुन् । पूर्वमहामन्त्री सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी छ । चौधरीलाई युवा तथा खेलकूद मन्त्री बनाउने तयारीमा देउवा छन् । देउवाले झण्डै तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन् ।

गठबन्धनबाट देउवा गत २९ असारमा प्रधानमन्त्री बनेका थिए । देउवाले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट दुई मन्त्री बनाइसकेका छन् ।

देउवाले आफूनिकट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री बनाइसकेका छन् । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद् विस्तार र शपथ गराउने तयारी थालेका छन् ।