नेपाली कांग्रेस बाजुराको सभापतिमा पौडेल पक्षका रावल विजयी

नेपाली कांग्रेस बाजुराको सभापतिमा पौडेल पक्षका रावल विजयी



बाजुरा । नेपाली कांग्रेस बाजुराको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रामसिंह रावल विजयी भएका छन् । त्रिवेणी नगरपालिकाका मेयरसमेत रहेका रावलले संस्थापन पक्षका कविराज पण्डितलाई पराजित गरेका हुन् ।

रावलले ६०५ मत प्राप्त गरे भने रावलका प्रतिस्पर्धी पण्डितले ५६६ मत पाए । बुधबार भएको मतदानबाट नेतृत्व चयन हुन नसकेपछि बिहीबार दोस्रो चरणको मतदान भएको थियो । तेस्रो स्थानमा रहेका चक्र शाहले रावललाई दोस्रो चरणको मतदानमा सघाएपछि उनको जित सहज बनेको हो । पहिलो चरणको मतदानामा शाहले १५२ मत पाएका थिए ।

कुल एक हजार १८२ मत खसेकोमा ११ मत बदर भएको थियो । जिल्ला कार्य समितिको पदाधिकारीमा सह–सचिव एक जना बाहेक सबै पदमा पौडेल पक्ष विजयी भएको छ । उप–सभापतिमा पदम बडुवाल विजयी भएका छन् ।

बडीमालिका नगरपालिकाका नगर प्रमुखसमेत रहेका बडुवालले सबै भन्दा बढी ७५६ मत ल्याएर उप–सभापतिमा विजयी भएका हुन् । उपसभापतिमा अर्का नारायण पाध्यायले ७४८ मत ल्याएर बिजयी भएका छन् । उपसभापति दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको थियो । जसमा शेर बहादुर खातीले ४३२ मत ल्याएका थिए ।