मन्त्री बनेर सिंहदरबार छिर्ने यी ११ नयाँ अनुहार

मन्त्री बनेर सिंहदरबार छिर्ने यी ११ नयाँ अनुहार



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा समेटिएका २५ सदस्यमध्ये ११ जना प्रथम पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिपरिषदमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल छन् ।

त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । माओवादीबाट शशी श्रेष्ठ, महेश्वरजंग, देवेन्द्र पौडेल, महेश्र्वर गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । यादव राज्यमन्त्री हुन् भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बनेका हुन् ।

त्यसैगरि नेकपा एसबाट पनि चार जना नयाँ अनुहार मन्त्री बनेका छन् । नेकपा एसबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक राज्यमन्त्री भएर सिंहदरबार छिरेका हुन् । यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मध्येमा पर्छन् ।