लुम्बिनीमा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम, आजै ३ बजे शपथ

लुम्बिनीमा कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम, आजै ३ बजे शपथ



काठमाडौं । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको मन्त्रिपरिषद् विस्तार आइतबार हुने भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले दिउँसो ३ बजेका लागि शपथको समय तय गरेको जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)लाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । नेपाली कांग्रेसबाट वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँ मन्त्री बन्ने भएका छन् । कांग्रेसले मन्त्रीको नाम टुंग्याएकाले शपथ ग्रहण हुने काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको थियो । यस्तै नेकपा माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् । नेकपाबाट उपचुनाव जितेर पछि माओवादी केन्द्र रोजेकी सांसद विमलाकुमारी वली राज्यमन्त्री बन्ने भएकी छन् ।

यसअघि मन्त्रिपरिषद् विस्तारका बेला नै वलीलाई राज्यमन्त्री बनाउने चर्चा थियो । माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ । माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

नेकपा समाजवादी बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछन् । कांग्रेसका प्रमुख सचेतक फकरुद्विन खाँनले १२ बजेपछि मात्रै नाम सार्वजनिक गर्ने बताए । राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्माको नाम समावेश गर्न नेतृत्वलाई दबाव परेको कांग्रेसका एक नेताले बताए । तर, राज्यमन्त्रीमा सचेतक निर्मला क्षेत्रीले समेत दाबी गरेकी थिइन् ।